काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा अध्यक्ष प्रचण्डले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुलाई समेटिएको छ ।
२४० वर्ष लामो राजतन्त्रलाई परास्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संविधान निर्माण र त्यो संविधान अन्तर्गत रहेर स्थानीय, प्रादेशिक र संघीय निर्वाचन गराउन भोगिएका पेचिला परिघटना र संघर्षलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।
सत्तामा रहँदा प्रतिपक्षलाई सँगै लिएर हिड्न सक्ने, प्रतिपक्षमा रहँदा सत्ता पक्षसँग मिल्न सक्ने लचकदार र समय र परिस्थितिको तत्काल बोध गर्न सक्ने नेताको रुपमा खेलिएको भूमिका पुस्तकमा पाइन्छ ।
विभिन्न राजनीतिक शक्तिहरुबीच भएका संघर्ष, पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्ने वर्ग, संस्कृति र विचारसँगको टकराव एवम् रुपान्तरणका अनेक प्रयास यसमा अभिलिखित छन् ।
पुस्तक प्रकाशनका निम्ति अहोरात्र खट्ने पार्टीका नेता, कार्यकर्ता र सचिवालयका सम्पूर्ण सदस्यमा अध्यक्ष प्रचण्डले धन्यवाद दिएका छन् । त्यसैगरी अध्यक्ष प्रचण्डले यस पुस्तक प्रकाशनका निम्ति घच्घचाउने पत्रकार, वुद्धिजीवि र शुभेच्छुकहरुमा कृतज्ञता पनि व्यक्त गरेका छन् ।
प्रज्ञा स्मृति प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमा ३८५ पृष्ठहरु रहेका छन् भने यसको मूल्य पाँच सय रहेको छ । पुस्तक राजधानी काठमाडौंलगायत देशका विभिन्न पुस्तक पसलमा उपलब्ध हुनेछ ।




प्रतिक्रिया