प्रचण्डको ‘त्यो’ अन्तिम प्रयास, एमसीसी टेबल गर्नबाट यसरी ब्याक भए देउवा

प्रचण्डको ‘त्यो’ अन्तिम प्रयास, एमसीसी टेबल गर्नबाट यसरी ब्याक भए देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आजको संसद बैठकमा एमसीसी टेबल नहुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी टेबल गरिए सरकारबाट बाहिरिने चेतावनी दिएपछि आज बस्ने संसद बैठकमा एमसीसी टेबल नगर्न प्रधानमन्त्री शेरबहादुर देउवा सहमत भएका हुन् ।

आज प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि देउवाले भोलिका लागि सत्ता साझेदार दलहरुको बैठक बोलाएका छन् । बिहीबार दिउँसो ३ बजे बैठकले एमसीसीबारे निर्णायक निर्णय लिने बुझिएको छ । योसँगै आज दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी टेबुल नहुने भएको हो ।

आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले संसदमा एमसीसी टेबल गरिए विपक्षमा मतदान गर्ने, राष्ट्रिय सहमति हुनुपर्ने र त्यसो नभए सरकारबाटै बाहिरिने निर्णय गरेको थियो । पार्टीको सोही निर्णय सुनाउन र अन्तिम प्रयासस्वरुप देउवासँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका थिए ।

भेटमा दुई शीर्ष नेताबीच संसद बैठकमा आज एमसीसी टेबुल नगर्ने सहमति जुटेको हो । भोलि गठबन्धनको निर्णायक बैठक बसेर यस बिषयमा निर्णय लिने सहमति भएको छ । माओवादीले यथास्थितिमा एमसीसी सदनबाट अनुमोदन गर्न नसकिने र जबरजस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका हुन् ।

एमसीसी अनुमोदनका लागि आफुसँगै हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका प्रचण्ड यसकै विपक्षमा उभिँदा आफुमाथि अन्तराष्ट्रिय दबाब आउन सक्ने भन्दै देउवा पछि हटेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ ।

राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अमेरिकाको दबाब आउनुका साथै, राजनीतिक गठबन्धन टुट्ने खतराले पनि देउवा पछि हटेको हुन सक्ने बताए । उनले भने, ‘अन्तराष्ट्रिय दबाब, राजनीतिक छबी बिग्रने डर, प्रचण्डको दोहोरो चरित्रलगायत कारणले देउवा पछि हटेका हुन् ।’ प्रचण्ड एमसीसीको समर्थनमा रहे पनि पार्टीभित्रका अन्य नेता कार्यकर्ताको दबाबले अप्ठयारोमा परेको उनको बुझाइ छ ।

नेता कार्यकर्ताहरूको इच्छाविपरित हिड्न खोजे प्रचण्डलाई नेतृत्वबाटै हट्ने डर पनि छ । अप्ठयारो हुने देखेपछि प्रचण्डले देउवालाई एमसीसी टेबुल नगर्न आग्रह गरेको उनको भनाइ छ । गठबन्धनमा सहमति नजुट्ने थाहा हुँदाहुँदै पनि देउवाले भोलि छलफल गरेर निर्णय गर्ने भनेको र प्रचण्डबाट देउवालाई धोका भइसकेको पनि बिश्लेषक जीवनको बुझाइ छ ।

सभापति शेरबहादुर देउवा पक्षधर नेता मीन विश्वकर्माले पनि माओवादीसँग सहमति नजुटेकाले एमसीसी टेबुल गर्नबाट देउवा पछि हटेको बताए । बिहान देउवा र प्रचण्डबीचको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेकोले एमसीसीलाई टेबुल गर्न पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । नेता विश्वकर्माले भने, ‘भोलि सत्ता गठबन्धनका दलबीच थप छलफल भएपछि एमसीसी सदनमा लैजानेबारे निर्णय हुनेछ । सहमति नजुटेकोले पुर्नविचार गर्नुपरेको हो ।’