उच्चस्तरीय सर्वदलीय संयन्त्र ठाडै खारेज गर, सरकार: गोकुल बाँस्कोटा

उच्चस्तरीय सर्वदलीय संयन्त्र ठाडै खारेज गर, सरकार: गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गोकुल प्रसाद बाँस्कोटाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्रको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । नेता बाँस्कोटाले उक्त प्रस्ताव खारेज गर्न माग गरेका हुन् ।

शुक्रबार सामाजिक सञ्‍जालमार्फत पूर्व सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका बाँस्कोटाले संविधानले नचिन्‍ने सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ? भन्दै प्रश्‍नसमेत गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने बताएका थिए । अध्यक्ष प्रचण्डले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी संयन्त्रमात्रै पर्याप्त नहुने भन्दै सर्वपक्षीय संयन्त्रको खोजेका थिए ।

‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु,’ प्रचण्डले भनेका थिए, ‘सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छ । मैले प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई यसतर्फ सोच्न आग्रह गरेको छ । अरूको नेतृत्वमा होइन, प्रधानमन्त्रीकै नेतृत्वमा संरचना बनाउनुपर्छ ।’

त्यसपछि सामाजिक सञ्जालमा प्रचण्डको उक्त प्रस्तावको पक्ष र विपक्षमा टिप्पणी भइरहेका छन् । पूर्वमन्त्री बाँस्कोटाले पनि प्रचण्डको उक्त प्रस्ताव ठाडै खारेज गर्न माग गरेका छन् ।

‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन् । सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरोनाविरुद्ध अहोरात्र हातेमालो गरिरहेका छन्’, उनले भनेका छन्, ‘अनिसँगै स्वास्थ्यकर्मी, सेना, प्रहरी, कर्मचारी र नागरिक युद्धमोर्चामै जुटेका छन् । यस्तो बेला संविधानले नचिन्‍ने उच्चस्तरीय सर्वदलीय संयन्त्र के सेकाउन चाहियो ? ठाडै खारेज गर, सरकार ।’