अर्थमन्त्री हटाउन खुमलटारमा प्रचण्डलाई दबाव, गर्लान ‘बोल्ड’ निर्णय ?


काठमाण्डु – पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्माको चौतर्फी आलोचना भइरहेको छ । अर्थमन्त्री शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई समावेश गरेपछि उक्त विषय पेचिलो बन्दै गएको छ । साथै उनको चौतर्फी राजीनामा माग गरिएको छ । तर सरकारले भने हालसम्म छनविनमा कुनै चासो देखाएको छैन ।

अर्थमन्त्री शर्माले असार १४ गते राति ‘खेताला विज्ञ’राखेर बजेटमा चलखेल गरेको ३० जेठमा खुलासा भएको थियो । त्यसयता मन्त्री शर्माको चर्को विरोध भइरहेको छ । त्यतिमात्र होइन नेकपा माओवादी केन्द्रभित्रै अर्थमन्त्री शर्माको तीव्र आलोचना भइरहेको छ । सत्ता गठबन्धन दल भित्रपनि उनको कार्यशैलीलाई लिएर शीर्ष नेताहरु विभाजित बनेका छन् ।

अनधिकृत व्यक्तिलाई सामेल गरेर करको दायरा परिवर्तन गरेको समाचार सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतले उक्त रातिको सीसीटीभी फुटेज हेर्न पाउनुपर्ने संसद्मै माग राखे । तर, अर्थमन्त्रीले त्यसलाई टार्दै आएका छन । मन्त्रालयले सिसिटिभीका फुटेजहरू १३ दिनसम्म मात्रै सुरक्षित रहने र त्यसपछि स्वतः डिलिट हुने जवाफ दिएको छ । तर, यस्तो जवाफले अर्थमन्त्रीलाई विवादबाट छुटकारा दिलाउनभन्दा पनि थप संकटमा पार्ने देखिन्छ ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट सचिव जयप्रसाद पौडेलले अनाधिृकत व्यक्ति प्रवेश गरेको दिन रातीको सीसीटीभी फुटेज माग्दा मेटिएको जवाफ मन्त्रालयबाट आएपछि अर्थमन्त्री शर्मा थप विवादित बनेका छन् ।

उनले सो घटनाबारे उठेका प्रश्नको जवाफ दिन पनि पन्छिन थालेका छन्। कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधि सभाको सोमबारको बैठकपछि संञ्चारकर्मीसँग अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने नत्र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अधिकार प्रयोग गर्नुपर्ने बताएका थिए ।

त्यस्तै पूर्वप्रधानन्यायाधीश शुशीला कार्की, नागरिक अगुवा डा गोविन्द केसीलगायतले उक्त घटनाको यथार्थ पत्ता लगाउनका लागि १४ गते रातिको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने माग उठाउँदै आएका छन् । तर, अर्थ मन्त्रालयले त्यस रातको फुटेज डिलिट भइसकेको बताएपछि उक्त विषय थप गम्भीर मोडमा पुगेको छ ।

अर्थमन्त्री शर्माको कार्यशैलीका कारण पार्टी बदनाम हुने भन्दै केन्द्रीय तहका नेताहरुले सरकारबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिन थालेका छन । मंगलबार बिहान प्रचण्डले नेताहरु देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेललगायतका नेताहरुलाई खुमलटार बोलाएर अर्थमन्त्री शर्माको विषयमा छलफल गरेका थिए ।

स्रोतका अनुसार सो बैठकमा पार्टीलाई हुने सम्भावित क्षतिबाट जोगाउन अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउन नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन् । स्रोतका अनुसार प्रचण्ड स्वयम अर्थमन्त्री शर्मालाई सरकारबाट हटाउने मुडमा छन् । तर, पार्टी र गठबन्धनको आन्तरिक समिकरणले कठिनाइ भइरहेको स्रोतको दावी छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग अर्थमन्त्री शर्माको विषयलाई लिएर छलफल गरेका छन् । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड दुवै जना अर्थमन्त्री शर्मालाई सरकारबाट हटाउन चाहान्छन् । तर, प्रधानमन्त्री पत्नी आरजु देउवासंग अर्थमन्त्री शर्माको सम्बन्ध राम्रो छ । जसकारण प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्माबारे निर्णय लिन नसकेको स्रोतले बतायो ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement