अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक ओली पक्षद्वारा बहिस्कार

अध्यक्ष प्रचण्डले बोलाएको सचिवालय बैठक ओली पक्षद्वारा बहिस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठक नेताहरुले बहिस्कार गरेका छन् ।

आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली पक्षका सदस्यहरु सहभागी नहुने भएका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अनौपचारिक रुपमा बोलाइएको उक्त बैठक गुट भेला भएको दाबी गरेका छन् । उनले उक्त बैठकमा प्रधानमन्त्री सहभागी नहुने स्पष्ट पारेका छन् ।

‘एकलौटी रुपमा बोलाइएको उक्त बैठकमा प्धानमन्त्री सहभागी हुनुहुन्न । त्यो बैठक नभएर गुटको भेला हो । औपचारिक बैठक हो भने त्यसरी बैठक बोलाउनु विधानविपरित हो’, उनले भने ।

उनले उक्त बैठकको विषयमा पार्टी महासचिव विष्णु पौडेललाई जानकारी नभएको बताएका छन् । आजको बैठकमा महासचिव पौडेल, ईश्वर पोखरेल पनि सहभागी नहुने बताइएको छ ।

उनकाअनुसार पार्टी विधानअनुसार दुई अध्यक्षको सहमतिपछि पार्टी महासचिवले सचिवालयको बैठक बोलाउने प्रावधान रहेको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले बोलाएको उक्त बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादल सहभागी नहुने भएका छन् । स्रोतकाअनुसार पूर्वमाअ‍ोवादी नेतासमेत रहेका बादलले उक्त भेलालाई अस्वीकार गरेका छन् ।

नेकपा सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल रहेका छन् ।