काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईप्रति आपत्ति जनाएका छन् ।
सोमबार ट्वीटमार्फत अध्यक्ष प्रचण्डले आफ्ना कारणले पार्टी एकता सफल नभएको भन्ने प्रधानमन्त्रीको आरोप झुट र भ्रामक भएको बताएका छन् ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु’, उनले भनेका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि पनि तत्कालिन नेकपालाई एकताबद्ध गराउन आफूले पहल गरेको तर, प्रचण्डको अनिच्छाका कारण सफल नभएको बताएका थिए ।
‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैं पहल गरेको हुँ । तर, पुष्पकमल दाहाल प्रचण्डको अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन । त्यसपछि हामी एकीकरणका पक्षधरहरुको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रुपमा नेकपा एमालेलाई नयाँ स्वरुप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं’, उनले भनेका छन् ।




प्रतिक्रिया