काठमाण्डु – सत्तारुढ दुई दलका शीर्ष तीन नेताहरु छलफलमा जुटेका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुँदैछ ।
बैठक सुरु हुनुअघि एमसीसीको विपक्षमा उभिने निर्णय गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल छलफलमा जुटेका हुन् ।
सिंहदरबारमा तीन नेताबीच भएको छलफलमा एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा कस्तो भूमिकामा रहने भन्ने रणनीतिका बारेमा छलफल भएको बुझिएको छ । ५ दलीय सत्ता गठबन्धनमा रहेका दुवै दलले एमसीसी संसद्मा टेबल गर्न दिए पनि प्रस्तावको विपक्षमा उभिने निर्णय गरेका छन् ।
दुवै दलका जनवर्गीय सङ्गठनहरूले एमसीसीलाई राष्ट्रघाती भन्दै विरोध प्रदर्शन जारी राखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अनुमोदन गर्ने पक्षमा छन् । तर, सत्तारुढ दुई दलले साथ नदिने देखिएपछि देउवा प्रमुख प्रतिपक्ष नेकपा एमालेको साथ खोजिरहेका छन् ।
यता नेकपा एमालेले पनि एमसीसीमा साथ दिने नदिने स्पष्ट पारिसकेको छैन । एमालेले सभामुख अग्नि सापकोटाको बहिर्गमन र माधव नेपालको पार्टी खारेज गर्नुपर्ने आफ्ना माग पुरा भए एमसीसीमा साथ दिने शर्त अघि सारेको छ ।




प्रतिक्रिया