काठमाण्डु – केही दिनअघि सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भयो । जसमा अनेरास्ववियूका केन्द्रीय सदस्य प्रशुन कार्कीको मुख रक्ताम्मे देखिन्थ्यो ।
लगत्तै नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय संघर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रेस नोट जारी गर्दै ‘अनेरास्ववियूको आयोजनामा काठमाण्डु को बानेश्वरमा भएको शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भएर फर्कने क्रममा अनेरास्ववियू केन्द्रीय सदस्य प्रशुन कार्कीलाई गिरफ्तार गरी प्रहरी भ्यानमा राखेपछि प्रहरीद्वारा निर्मम कुटपिट’ गरिएको दाबी गरे ।
केहीबेरपछि सामाजिक सञ्जालमै अर्काे तस्वीर सार्वजनिक भयो । जसमा केन्द्रीय सदस्य कार्कीले प्रहरीको पोशाकमाथि हात हालेको देखिन्थ्यो । तर नेता भट्टराईले त्यसलाई शान्तिपूर्ण विरोध कार्यक्रम भनिरहेका थिए ।
राजनीतिक आन्दोलनमा प्रहरीमाथि जाइलाग्ने र हिंसात्मक बनाउने प्रवृत्ति रहँदै आएको छ, त्यसकै पुनरावृत्ति बानेश्वर आन्दोलनमा देखिएको थियो । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल पक्षले गरिरहेको आन्दोलन यत्तिकैमा सकिएको छैन, झन् आक्रामक आन्दोलन घोषणा भइरहेका छन् ।
प्रचण्ड–नेपाल पक्षले भोलि बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको छ । तर सर्वसाधारण जनताले सामाजिक सञ्जालमार्फत आमहड्तालको विरोध गरेका छन् । जनताले आमहड्तालको विरोध गर्दा वा अवज्ञा गर्दा तोडफोड, आगजनी र कुटपिट हुने सम्भावना समेत रहने गरेको छ, विगतका आन्दोलनबाट सम्भावित अनुमान गर्न सकिन्छ ।
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आक्रामक हुनुपर्ने र शाकाहारी आन्दोलनले मात्रै नहुने अभिव्यक्ति यसअघि नै दिइसकेका छन् ।
गत माघ ४ गते काठमाण्डु को प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘मलाई किन किन टाउको चिलाएको छ, लाठी खान मन छ योपटक । साँच्चै हो । हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो, आक्रामक हुनुपर्यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस् । अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।’
प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको बन्द र हड्तालको आन्दोलनले मुलुक मुठभेडतिर जाने देखिएको छ । एकातिर प्रहरी र आन्दोलनकारीबीच झडप हुने तथा अर्काेतिर सर्वसाधारण जनता र मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग प्रत्यक्ष मारमा पर्ने गरी आन्दोलन घोषणा गरिएको छ ।
हालै बर्मामा सैनिक ‘कु’ भएर सत्ता हातमा लिँदा त्यहाँका अधिकारकर्मीले आन्दोलनका लागि सडकमा नआउन अपिल गरेका बर्मामा रहेका नेपाली पत्रकार दिपक भट्टराईले ट्विटरमा लेखेका छन् । अधिकारकर्मीले रचनात्मक आन्दोलन गर्न नागरिकलाई सुझाव दिएका छन् ।
‘फेसबुकमार्फत धेरै अधिकारकर्मीले नागरिकलाई सैनिक सरकारको विरोधमा सडकमा नजान भनेका छन् । सडकमा जाँदा सैनिक समर्थकसँग झडप हुनसक्ने र स्थिति तनावपूर्ण हुने हुँदा नागरिक अवज्ञा गर्न अनुरोध गरेका छन् । लोकप्रिय बियरदेखि गहना पसलसम्म चलाएको सेनाको सैयौं उत्पादन प्रयोग नगर्न भनेका छन्,’ पत्रकार भट्टराईले ट्विटरमा लेखेका छन् ।
प्रचण्ड–नेपाल पक्षको बन्दलाई सफल पार्न आह्वान गर्दै ट्विटरमा लेखिएको अपिलमा पूर्व प्रशासक सूर्यराज आचार्यले लेखेका छन्, ‘तपाईंहरूको राजनीति जनताबाट कति टाढिएको छ भन्ने संकेत । जनभावना बुझ्नोस् । आन्दोलनका अन्य विकल्पबारे सोच्नोस् । कसले दियो, यस्तो अक्कल ? जनतासँग मुठभेड निम्तने जोखिम छ है ! कृपया, तु फिर्ता लिनोस् । यहाँहरूको आन्दोलनको वैधता अझ उँचो हुनेछ ।’
आन्दोलन घोषणा गर्दै केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले समेत गलत भइरहेको महसुस गर्दै क्षमायाचना समेत गरेका छन् । उनले पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमाचायना गरेका छौं ।’
जनतालाई असहज हुने जान्दाजान्दै जनतालाई दुःख हुने गरी आमहड्तालको आन्दोलन नै किन ? प्रश्न प्रचण्ड–नेपाल पक्षका नेताहरूतिर तेर्सिएका छन् ।
प्रतिनिधिसभा विघटनपछि सुरु भएको प्रचण्ड–नेपाल पक्षको सडक आन्दोलन भोलि बिहीबारबाट आमहड्तालको चरणमा प्रवेश गर्दैछ । यसबीच सडक प्रदर्शन, जुलुस, जनशक्ति प्रदर्शन गर्न विरोधसभाहरू भएका थिए । आन्दोलन अन्तर्गत विरोधसभा गर्ने कार्यक्रम अझै पनि छन् । तर प्रचण्ड–नेपाल पक्ष जनतालाई दुःख पर्ने गरी हड्तालमै उत्रिएको छ ।
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेको छ । संवैधानिक र कानूनी प्रक्रियाबाट विवाद र समस्या समाधान गर्ने बाटो हुँदाहुँदै प्रचण्ड–नेपाल पक्ष जनतालाई दुःख हुने आमहड्तालमा उत्रिएको छ ।




प्रतिक्रिया