काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई पत्र पठाएको छ । प्रचण्ड–नेपाल समूहले बिहीबार आयोगलाई एक पत्र लेख्दै पार्टी आधिकारिकताको प्रक्रिया किन अघि बढेन ? भन्दै प्रश्न गरेको छ ।
प्रचण्ड–नेपाल समूहले माघ २० गते आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेखेको थियो । त्यस्तै वैशाख १७ र २७ गते निर्वाचन गर्ने समूहसमेत सरकारले छुट्याइसकेको छ । तर, निर्वाचन गर्ने समूह यसअघि निर्वाचन आयोगले छुट्याउँदै आएको थियो । प्रचण्ड–नेपाल समूहले सरकारले यस्तो निर्णय गर्दा टुलुटुल हेरेर बस्ने ? भन्दै प्रश्न गरेको छ ।
माघ २७ गते मन्त्रिपरिषद्को बैठकले पहिलो चरण अर्थात वैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । जसअनुसार प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको थियो ।
साथै दोस्रो चरण अर्थात वैशाख २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । जसअनुसार प्रदेश नम्बर–१, वाग्मती र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।
प्रचण्ड–नेपाल र केपी शर्मा ओली समूहबीच नेकपाको आधिकारिकताबारे विवाद निर्वाचन आयोगमा विचाराधीन छ । गत मंगलबार प्रधानमन्त्री ओली आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका थिए ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि विघटित नेकपाका दुवै समूह (ओली र प्रचण्ड–नेपाल) ले आफूलाई आधिकारिकता दाबी गर्दै आइरहेका छन् ।
आयोग पुगेर प्रधानमन्त्री अोलीले आफ्नो समूहलाई आधिकारिक भएको र वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गरेका थिए ।




प्रतिक्रिया