काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले नेकपाको विवाद समाधान नगरी निर्वाचन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेको छ ।
आइतबार निर्वाचन आयोग पुगेर प्रचण्ड–नेपाल समूहका नेता लिलामणी पोखरेलले नेकपाको विवाद नसुल्झ्याइ चुनावी प्रक्रियामा नजान आग्रह गरेको हो । निर्वाचन आयोगले चुनावबारे छलफल गर्न राजनीतिक दलहरुलाई आयोगमा बोलाएको थियो ।
‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवाद सम्बन्धी प्रश्नहरू हल नगरी कसरी निर्वाचन सम्पन्न गर्नु हुन्छ ? नेकपाको ६४ प्रतिशत मत छ । यसको विवाद समाधान नगरी निर्वाचन सम्पन्न गर्न सकिन्न,’ पोखरेलले भने ।
पोखरेलका अनुसार निर्वाचन आचारसंहिताबारे आयोगले मस्यौदा प्रस्तुत गरेको थियो । आचारसंहिता उलंघन गरेमा एक लाख जरिवाना र उम्मेवारी नै खारेज हुन सक्ने आचारसंहिता रहेको छ ।
पोखरेलले निर्वाचन आयोग सरकारको लाचार छाया बन्न नहुने बताएका थिए । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेकोले निर्वाचनको प्रक्रिया अगाडि बढाउन नहुने उनको भनाइ थियो । आयोगमा पार्टीको कुरा उठाएपछि एक नेताले आचारसंहिताको कुरामा पार्टीको विवाद झिक्न नमिल्ने बताएका थिए । जवाफमा पोखरेलले दलको विवाद अन्त्य गरेपछि मात्रै आचारसंहितको विषय अगाडि बढाउनुपर्ने बताएका थिए ।
सरकारले गत वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । सोहीअनुसार आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।




प्रतिक्रिया