काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गैर–कानुनी ढङ्गले ज्यादतीपूर्ण, बलमिच्याइँ, दमनकारी क्रियाकलाप गरिराखेको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले संसद विघटनपछि सरकार स्वत कामचलाउ भएकाले कानुन विपरीत दमनकारी क्रियाकलाप गरिराखेको बताए ।
‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधि सभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ’, उनले भने, ‘त्यसको विपरीत गैर–कानुनी ढङ्गले ज्यादतीपूर्ण, बलमिच्याइँ, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’
उनले निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाइ गरेकोप्रति आफूहरू सन्तुष्ट नरहेको बताए ।
उनले भने, ‘निर्वाचन आयोगले ढिलाइ गरेको कुराप्रति हामी सन्तुष्ट छैनौँ । तर पनि संवैधानिक अङ्गहरू सबैले संविधान र कानुनअनुसार ढिलो÷चाँडो सही फैसला गर्नेछन् भन्ने अपेक्षा गर्दछौँ ।’
प्रवक्ता श्रेष्ठले सर्वोच्च आदालतले पनि संविधानसम्मत ढङ्गले निर्णय गर्ने विश्वास बैठकले गरेको जानकारी दिए । उनले भने, ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधीन मुद्दाका बारेमा फैसला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधानसम्मत ढङ्गले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्ने छ भन्ने विश्वास व्यक्त गरेको छ ।’




प्रतिक्रिया