काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रकिया अगाडि नबढाउने निर्णय गरेकाे छ । सोमबार बसेको सचिवालय बैठकले फागुन २३ गते बस्ने संसद बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रकिया अगाडि नबढाउने निर्णय भएको हो ।
बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेर मात्रै अविश्वासको प्रस्तावबारे अगाडि बढ्ने निर्णय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । गत पुस ५ गते प्रचण्ड–नेपाल समूहले ९० जना सांसदको हस्ताक्षरसहित संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।
उक्त हस्ताक्षरमाथि वैधानिकताको प्रश्न उठेपछि सामूहिक निर्णयबाट हघि बढ्ने प्रचण्ड–नेपालको तयारी छ ।गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा अोलीले संसद विघटन गरेकै दिन प्रचण्ड–नेपाल समूहका ९० जना सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
उनीहरुले कांग्रेस र जसपासँग सहकार्य नगरी अविश्वासको प्रस्तावबारे अगाडि बढ्दा समस्या निम्तिने भएकाले पुरानेा प्रस्ताव फिर्ता लिएर अघि बढ्ने तयारी गरेका हुन् । स्रोतकाअनुसार अविश्वासको प्रस्ताव फिर्ता गरेर नयाँ प्रक्रियाबाट अगाडि बढ्ने तयारी प्रचण्ड–नेपाल पक्षको छ ।
‘अहिले हाम्रो मुख्य सहयात्री भनेको कांग्रेस र जसपा हुन् । उनीहरुसँग अविश्वासको प्रस्तावबारे छलफल भएको छैन् । बरु पुरानो प्रस्ताव फिर्ता लिएर अगाडि बढ्ने तयारी छ’, प्रचण्ड–नेपाल समूहका एक सांसदले भने ।
फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै फागुन २३ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् ।




प्रतिक्रिया