काठमाण्डु- गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको छ । गठबन्धनमा एमसीसीबारे सहमति जुटाउन निर्णायक छलफल हुनुअघि बिहीबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच छलफल भएको स्रोतले जनाएको छ ।
भेटमा एमसीसी सम्झौता टेबल गर्ने प्रधानमन्त्रीको अडानबारे छलफल भएको स्रोतले जनायो । नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न सहयोग नगर्ने बताएको छ । नेकपा एकीकृत समाजवादीले पनि संशोधन नगरी एमसीसी पास गर्न कुनै पनि हालतमा सहयोग नगर्ने अडान कायमै राखेको छ ।
शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबुल गर्ने तयारीमा लागेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी सहयोग नगर्ने भए प्रचण्डलाई सरकारबाट बाहिरिन समेत आग्रह गरेका छन् । त्यसैगरी प्रधानमन्त्री देउवाले एमसीसीबारे संसदको निर्णय जे आउछ त्यसलाई स्वकार गर्ने बताएका छन् ।




प्रतिक्रिया