काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफूलाई सोधेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको विपक्षी गठबन्धन दलहरूको बैठकमा सहभागी भएको बताएका छन् ।
बजेटबारे छलफल गर्न शुक्रबार बसेको माओवादी संसदीय दल बैठकमा सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष नेपालको दौडधुपबारे राखेको चासोको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका कारण सत्ता गठबन्धनमा कुनै समस्या नआउने बताए ।
नेपाल बुधबार कांग्रेस सभापति देउवा निवास, बूढानीलकण्ठमा भएको बैठकमा सहभागी भएका थिए ।
‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डले बैठकमा भनेका थिए, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन पनि तलमाथि हुन्न ।’
उनले बजेटको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका छन् । अघिल्लो बजेट समाजवादउन्मुख बनाउन नसकेको स्वीकार्दै प्रचण्डले यो पटक समाजवादउन्मुख बजेट ल्याइएकाले यसको डिफेन्ड गर्न र कार्यान्वयनमा जोड दिन निर्देशन दिए ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले पनि बजेट सकारात्मक र सन्तुलित भएको बताएका थिए ।




प्रतिक्रिया