काठमाडौं – सत्तारुढ दल पनेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावितहरुको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत जिल्लामा बाढी पहिरोले आक्रान्त तुल्याएको, जनधनको क्षति भएको भन्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
नेकपा अध्यक्ष प्रचण्डले घरबारविहीन भएर भएका, घाइते अवस्थामा रहेकाहरूको उद्धार गर्न पार्टी, केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासनलाई अविलम्ब प्रकोप व्यवस्थापनमा जुट्न आग्रह पनि गरेका छन् ।
‘सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको छ,’ उनले भनेका छन्, ‘यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु ।
अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनुभएको र घरबारविहीन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम् परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपिल गर्दछु ।’




प्रतिक्रिया