काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिवन र मृत्युको लडाईं सुरु भएको बताएका छन् ।
बिहिबार प्रचण्ड–नेपाल समूहको भेलामा बोल्दै अध्यक्ष प्रचण्डले संविधान र यो व्यवस्थालाई असफल बनाउन प्रतिक्रियावादी र प्रतिगामीहरुले ठुलो षड्यन्त्र गरेको र त्यसका विरुद्ध अहिलेसम्मकै ठुलो संघर्ष र त्यागका लागि तयार हुनुपर्ने चेतावनी दिएका छन् ।
‘पहिलाका तुलनामा कयौं गुणा बढी त्यागका लागि तयार हुनुपर्छ, निर्वाचन भइहाल्छ, चुनाव जितिहालिन्छ भनेर हुँदैन । यो ठुलो डिजाइनअनुसार भएको हो, त्यति सजिलै यसलाई लिनु हुँदैन,’ उनले भने, ‘वैचारिक र राजनीतिक रूपमा विचलित साथीहरूसँगको लडाइँ हो । यो जीवन र मृत्युको लडाइँ हो । जस्तोसुकै मूल्य चुकाउन पनि अघि बढ्नुपर्छ ।’
उनले प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्था २०१७ सालको जस्तो भएको समेत बताए । ‘२०१७ सालको जस्तो प्रतिक्रान्ति ल्याउन खोजिएको छ । हाम्रा उपलब्धिको हत्या गरिएको छ, ७ दशकसम्मको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिसमेत अपहरणमा परेको छ । हामी मर्दै नमरेकालाई मरेको भनिएको छ ।’ जरुरी पर्छ भने जुझारु संघर्षमा जानुपर्ने हुन्छ, आजको अवस्था सामान्य जस्तै हो भनेर सोच्नु गलत हुनेछ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले संसख विघटनविरुद्ध सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिए । ‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं,’ उनले भने, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनुस् । आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’




प्रतिक्रिया