काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा पैदा भएको बताएका छन् ।
तमु (गुरुङ) समुदायको तमु ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको यःमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदै अध्यक्ष प्रचण्डले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती र निरंकुशतावादीहरु सल्बलाउन थालेको उल्लेख गरेका छन् ।
उनले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एक पटक पुनः संघर्ष गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सबै समुदायका उपलब्धीहरु गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न सबैलाई आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिकरूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मूर्तिकृत गरेको स्मरण गर्दै उनले आआफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्व यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह गरेका छन् ।




प्रतिक्रिया