अदालतको फैसलाले लोकतन्त्रको विजय भयो, अब २३ गतेपछि सबै क्लियर हुन्छः प्रचण्ड

अदालतको फैसलाले लोकतन्त्रको विजय भयो, अब २३ गतेपछि सबै क्लियर हुन्छः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको विजय भएको बताएका छन् ।

बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको फैसलाले लोकतन्त्रको विजय भएको बताएका हुन् ।

उनले भने, ‘अव राजनीतिक ट्याकमा जान्छ भन्ने सर्वोच्चको फैसलाले देखाएको छ । निरंकुशता, दम्भमाथि न्याय र लोकतन्त्रको जित भएको छ ।’

सञ्चारकर्मीहरुले राजनीतिक संक्रमण कहिले अत्य हुन्छ ? भनी सोधिएको प्रश्नमा प्रचण्डले राजनीतिक संक्रमण अव लामो समय नजाने भन्दै फागुन २३ गतेपछि सवै क्लियर हुने दावी गरे ।

‘२३ गतेपछि सवै क्लियर हुन्छ । आवश्यक न्यूनतम समय त लाग्ला,’ उनले भने, ‘ऐन कानुन नियम अनुसार प्रक्रिया कति समय लाग्छ त्यसबाहेक यो लामो समय जादैन ।’

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

नेकपाको आन्तरिक विवादका कारण संसदलाई असंवैधानिक रुपमा विघटन गरेका ओलीको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ ।

सर्वोच्चको आदेश अनुसार २३ गतेलाई सरकारले हिउँदे अधिवेशनसमेत बोलाएको छ । उक्त अधिवेशन शुरु भएपछि प्रधानमन्त्री ओलीलाई हटाउने तयारी दलहरुले गरेका छन् ।