शान्ति सम्झौतापछि दलितको स्वतन्त्रता हरायोः प्रचण्ड

शान्ति सम्झौतापछि दलितको स्वतन्त्रता हरायोः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनले धेरै ठुला राजनीतिक परिवर्तन ल्याए पनि सामाजिक सांस्कृतिक व्यवस्थामा परिवर्तन आउन नसकेको बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित ‘इभा म्यासेल सामाजिक न्याय पुरस्कार’ वितरण समारोहमा बोल्दै दाहालले आफूहरु जनयुद्ध जितेर नभै सम्झौता गरेर आएका कारण चाहेजस्तो परिवर्तन गर्न नसकेको बताए ।

अध्यक्ष दाहालले जनयुद्धकालमा स्वतन्त्र ढंगले आत्म निर्णयको अधिकार प्रयोग गरेका दलित समूदायले अहिले त्यस्तो स्वतन्त्रता महसुस गर्न नसकेको आफूले पाएको बताएका हुन् । उनले समाजका पिछडिएका जाती तथा समूदायले शान्तिको अवस्थामा भन्दा क्रान्ति र आन्दोलनमा स्वतन्त्रता महसुस गर्ने गरेको बताए ।

‘जनयुद्ध र आन्दोलनका बेला गाउँघरमा दलित समूदायले निकै ठुलो स्वतन्त्रता पाएको थियो । घरबाट निस्केर बन्दुक बोकेर हिँड्थे । जनसरकार चलाउँथे । अन्तरजातीय विवाह हुन्थे । त्यस्ता विवाहलाई हामीले बधाई दिन्थ्यौँ ।’

तर शान्ति सम्झौतापछि त्यो अवस्था उल्टिएको भन्दै उनले अगाडी थपे, ‘शान्ति प्रकृया पछि फेरि सामन्तवादीहरुकै हालिमुहाली हुन थाल्यो । दलित, पिछडिएका समूदायहरुको स्वतन्त्रता फेरि हरायो । चुलोचौकोमै फर्कनुपर्यो ।

अन्तरजातीय विवाहहरु पनि सकिए । अन्तरजातीय जोडीहरुको सम्बन्ध पनि कसैकसैको घिटिघिटि बाँचेको होला नत्र सम्बन्ध विच्छेद भएर सकिए ।’

१० वर्षे जनयुद्ध सफल बनाउन दलित समूदायको ठुलो भूमिका रहेको बताउँदै प्रचण्डले जनयद्धमा दलित महिलाहरुले नयाँ उर्जा दिएको भन्दै प्रशंसा पनि गरे ।