काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटी बैठकमा ब्रिफिङ गरेका छन् । शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु भएको आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रबारे ब्रिफिङ गरेका हुन् ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा रिपोर्टिङ गर्दै सत्ता गठबन्धन तत्काल नटुट्नेमा आफु ढुक्क भएको बताए ।प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् । ‘अब चाहिँ म ढुक्क भएको छु । एमसीसी पनि पास भयो, तत्काल गठबन्धन पनि टुट्दैन । स्थानिय चुनावसम्म हामी साथ जान्छौं,’ उनले भने ।
फागुन १५ गते संसदबाट विवादित एमसीसी पास भएसँगै बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अझै बलियोसाथ अघि बढ्ने निष्कर्ष निकालेको थियो ।
त्यस्तै प्रचण्डले एमालेले चाहेर सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताए । एमालेले सभामुखलाई हटाइनुपर्ने धारणा राख्दै आएको सन्दर्भमा प्रचण्डले एमालेले महाभियोग नै लगाएपनि हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् ।
‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि उहाँकै विषयमा चर्चा गर्ने बेलामा संसदको अध्यक्षता उहाँले गर्नुहुन्न । बाँकी बेलामा संसदको अध्यक्षता गर्न उहाँलाई संविधान र कानुनले कहीँ बन्देज लगाएको छैन’, प्रचण्डले भने, ‘यसकारण सभामुख हट्न सक्ने अवस्था भएन ।’
बैठकमा समसामयिक विषयमा छलफल, एमसीसी सम्झौता अनुमोदन, संगठनात्मक विषय, कार्य विभाजन, स्थानीय निर्वाचन र विविध विषय गरी ६ वटा एजेण्डा तय गरिएको छ ।




प्रतिक्रिया