एकाबिहानै खुमलटारमा प्रचण्ड निकट नेताहरुको भेला, ओली थप संकटमा

एकाबिहानै खुमलटारमा प्रचण्ड निकट नेताहरुको भेला, ओली थप संकटमा


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्पन्न राजनीतिक संकटका विषयमा छलफल गर्न प्रचण्डनिकट नेताहरू बुधबार बिहानै खुमलटार पुगेका हुन् ।

स्रोतका अनुसार जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, गणेश शाहलगायत प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।

छलफलमा के निर्णय भयो भन्नेबारे खुलाइएको छैन । नेकपा स्थायी कमिटी बैठकमा के कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गर्न प्रचण्ड पक्षीय नेताहरु भेला भएको बुझिएको छ ।

नेकपा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्दैछ ।

यसअघि आइतबार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमान सिंह लामाको मृत्युमा शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित गरिएको थियो ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीमा कुनै छलफल नै नगरी मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवाद थप उत्कर्षमा पुगेको छ ।

ओलीको पछिल्लो कदमको पार्टीभित्र र बाहिर तीव्र विरोध सुरु भएको छ । जसको कारण ओली थप अप्ठ्यारोमा परेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने ओलीको कदमको चर्को आलोचना गरेका छन् ।