काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वर्तमान सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धनबाटै प्रधानमन्त्री बन्न प्रस्ताव गरेको निकटस्थ स्रोतले जानकारी दियो । प्रचण्डले ओलीलाई नेपाली कांग्रेससँग मिल्नुको साटो यही गठबन्धनबाट प्रधानमन्त्री बन्न आग्रह गरेको स्रोतले बतायो ।
तर, भेटमा ओलीले भने अध्यक्ष ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । ओलीको प्रस्तावमा प्रचण्डले हुन्छ/हुन्न भन्ने जवाफ नदिएको स्रोतले बतायो ।
एमाले र कांग्रेसबीच करिब सहमति भइसकेको जानकारी पाएका प्रधानमन्त्री प्रचण्डले ओलीलाई रोक्न सकिन्छ कि भनेर अस्त्र प्रहार गरेका हुन् । माओवादीका एक नेताले भने, ‘अध्यक्षज्यूले रोक्न सकिन्छ कि भनेर प्रस्ताव गर्नुभएको हो । कांग्रेससँग करिब करिब टुंगो लागिसकेकाले ओली कामरेडले मान्ने कुरा भएन ।’
निकटस्थ स्रोतका अनुसार कांग्रेस र एमालेबीच वर्तमान संसदको कार्यकालको आधा–आधा सरकार चलाउने गरी सहमति बनेको छ । दुई दलबीच संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय आयोग बनाउने सहमति पनि बनेको बताइन्छ ।




प्रतिक्रिया