प्रचण्डले गृहमन्त्रीलाई भनेः नेकपा फुटको संघारमा पुग्यो, साथ दिनुस्

प्रचण्डले गृहमन्त्रीलाई भनेः नेकपा फुटको संघारमा पुग्यो, साथ दिनुस्

गृहमन्त्रीको जवाफः विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्छु


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भोलिपल्ट अध्यक्ष प्रचण्ड आफै गृहमन्त्री भेट्न मन्त्री क्वार्टर पुल्चोक पुगेका हुन् ।

भेटका क्रममा बादलसँग केही मिनेट कुराकानी गरेका प्रचण्डले थापालाई नेकपा विभाजनको संघारमा पुगेकाले आफूलाई साथ दिन आग्रह गरेको स्रोतले बतायो ।

जवाफमा मन्त्री थापाले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । उनले जे भयो दुर्भाग्यपूर्ण भयो भन्दै दुई भागमा पार्टी विभाजन हुने अवस्था आए आफुले सबै कुरा बुझेर निर्णय लिने बताएको मन्त्री थापाका सल्लाहकार सूर्य सुवेदी जानकारी दिए ।

पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका थापा पछिल्लो समय प्रधानमन्त्री ओली निकट मानिँदै आएका छन् । तर बादल सोमबार प्रधानमन्त्रीले बोलाएको उनीनिकट सांसदहरूको भेलामा गएका थिएनन् । बरू उनले पुल्चोकमा आफ्नो पूर्वसमूहका नेताहरूसँग छलफल गरेका थिए ।

उक्त छलफलमा थापाले आज साँझसम्म प्रधानमन्त्री ओलीको कदमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन् ।