काठमाण्डु – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माका विषयमा आइरहेका समाचारप्रति भ्रममा नपर्न आग्रह गरेको छ ।
नेकपा अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले एक विज्ञप्ति जारी गर्दै नेता शर्मा पार्टी एकता बचाउन लागेको भन्दै भ्रममा नपार्न आग्रह गरेका छन् ।
सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘केही दिन यता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माका बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित, प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको छ । आन्तरिक वैचारिक बहसहरू एक जीवन्त पार्टीका विशेषताहरू हुन् । तिनै बहसका सम्बन्धमा मिडियामार्फत नेताहरूमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।’
प्रचण्डको सचिवालयले शर्माले एकतादेखि आजसम्मको काममा प्रचण्डलाई सघाउँदै आएकाले भ्रममा नपर्न आग्रह गरेको छ । “पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेडलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिले पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडिएका भ्रामक प्रचारहरूलाई खारेज गर्दछौं,” सापकोटाले भनेका छन् ।




प्रतिक्रिया