प्रचण्डको सचिवालयमा मल्ललाई हटाएर आचार्य ल्याइने

प्रचण्डको सचिवालयमा मल्ललाई हटाएर आचार्य ल्याइने


काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयमा रहेका पार्टी केन्द्रीय सदस्य रमेश मल्ललाई हटाउने भएका छन् ।

अहिले केही बेरमा प्रचण्ड निवास खुमलटारमा बस्ने पदाधिकारी बैठकले पार्टी अध्यक्षको सचिवालयमा बसेर पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनमा गुटबन्दी गरेको आरोप लागेका मल्ललाई हटाउने तयारी भएको हो ।

मल्लमाथि विजय सापकोटालाई जिताउन प्रचण्डको सचिवालयमा बसेर गुटबन्दी गरेको आरोप माओवादी नेताहरूले लगाएका छन् । क्रान्तिकारीको अध्यक्षमा सापकोटाबाहेकका उम्मेदवारलाई हराउन मल्लले भूमिका खेलेको आरोप छ ।

मल्लको स्थानमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा प्रचण्ड प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई ल्याउने तयारी भएको एक नेताले जानकारी दिए । आचार्य पहिला देखि नै प्रचण्डका ‘एसम्यान’ हुन् । तर, पदका लागि मोरिहत्ते गर्ने आचार्य पार्टीमा कहिले कुन खेमामा त कहिले कुन खेमामा पुग्ने गरेका थिए ।

क्रान्तिकारीको निर्वाचन एउटा बाहाना भए पनि प्रचण्डले मल्ललाई यसअघिबाटै हटाउने प्रयास गरेका थिए । मल्ललाई प्रचण्डपुत्री तथा स्वकीय सचिव गंगा दाहाल र गंगाका श्रीमान कोशी प्रदेश सभाका सांसद जीवन आचार्यले पनि नरूचाएको चर्चा खुमलटार वरपर सुन्न पाइन्थ्यो ।

सचिवालय बैठकमा उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनसम्बन्धी प्रस्तावमाथि छलफल गरी निर्णय गर्ने कार्यसूची छ । त्यही कार्यसूची अनुरुप मल्ललाई हटाएर आचार्यलाई ल्याउने तयारी भएको हो ।

पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी माघ १ गतेसम्म हेरफेर गर्ने निर्णय गरेबमोजिम कार्यदलले माघ २ गते बसेको पदाधिकारी बैठकमा जिम्मेवारी हेरफेरको प्रस्ताव पेस गरेको थियो ।

कार्यदलमा भुसालसहित उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत सदस्य छन् ।