काठमाण्डु – माअोवादी केन्द्रका दुई जना केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रदेश नम्बर १ का संसदीय दलका उपनेतासमेत रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य टंक आङ्बोहाङ र पूर्वसांसद पासाङ शेर्पा एमालेमा प्रवेश गरेका हुन् ।
केही दिनअगाडि प्रचण्ड–माधव नेपाल समूहमा लागेका आङ्बोहाङ र शेर्पा सर्वोच्च अदालतको फैसलापछि पार्टी परित्याग गर्ने निर्णयमा पुगेका छन् । शेर्पा ताप्लेजुङबाट माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
प्रचण्डले जनमतको कदर गर्न नसकेको भन्दै उनीहरुले एमालेमा समाहित हुने निर्णय लिएका हुन् । दुवै नेताले एमाले नेता सुवास चन्द्र नेम्वाङलाई भेटेर एमाले आउने बताएका छन् ।
पछिल्लो समय माओवादी केन्द्र छोड्ने नेताहरुको संख्या बढेको छ । सरकारमा गएका प्रचण्ड निकट ६ जना नेता एमालेमा समाहित हुने भएपछि माओवादी केन्द्र छोड्नेको संख्या बढेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्र छोडेर एमालेमा समाहित हुने निर्णयमा पुगेका हुन् ।




प्रतिक्रिया