पत्नी सीतालाई लिएर आज मुम्बई जाँदै प्रचण्ड

पत्नी सीतालाई लिएर आज मुम्बई जाँदै प्रचण्ड


काठमाण्डु – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई लिएर आज भारत जाँदैछन् । उनी पत्नी सीताको उपचारका लागि बिहान ११ बजेको उडानबाट मुम्बई जान लागेका हुन् ।

सीताको साथमा अध्यक्ष प्रचण्डसहित छोरी गंगा दाहाल पनि जाने प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड भने बुधबार स्वदेश फर्किने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । माधवकुमार नेपालको अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो १ बस्ने बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

आलोपालो बैठकको अध्यक्षता गर्ने निर्णयअनुसार यो बैठकअवधिभर नेता नेपालले नै अध्यक्षता र बैठक सञ्चालन गर्नेछन् । यो बैठकमा अध्यक्ष प्रचण्ड भने सहभागी हुने छैनन् ।