नेकपा अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान वार्ता हुँदै


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग एक्लै भेटवार्ता गर्ने भएका छन् ।

दुई दिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका राष्ट्रपति सी र नेकपा सचिवालय सदस्यहरुबीच काठमाडौंस्थित होटल सोल्टीमा आइतबार १०ः३० बजेदेखि सुरु हुने सामूहिक भेटवार्ता सकिएलगत्तै अध्यक्ष प्रचण्ड र राष्ट्रपति सीबीच वान टु वान भेटवार्ता हुन लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डसँगको भेटसकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीबीच शिष्टाचार भेटवार्ता हुनेछ । सोही भेटवार्ताका क्रममा दुई देशीय केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुनेछ ।

राष्ट्रपति सीले शनिबार नै राष्ट्रपति निवास शितलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति भण्डारीले शनिबार होटल सोल्टीमा रात्रीभोज आयोजना गरेकी थिइन् । साथै शनिबार साँझ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement