काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस रोकथामका लागि सहयोग गर्न चीनका राष्ट्रपति सी चिनफिङलाई आग्रह गरेका छन् ।
नेकपाको तर्फबाट बिहीबार चिनियाँ राष्ट्रपति सीलाई एक विशेष पत्र लेख्दै अध्यक्ष प्रचण्डले कोरोना भाइरसको महामारीसँग जुध्न आवश्यक सहयोगका लागि अपिल गरेका हुन् ।
अध्यक्ष प्रचण्डले महामारीविरुद्ध जुध्न अत्यावश्यक मेडिकल इक्युपमेन्टलगायत अन्य सामग्रीको जरुरत रहेको बताउँदै चाँडोभन्दा चाँडो आवश्यक सामग्री पठाइदिन अनुरोध गरेको प्रचण्डका निजी सचिवसमेत रहेकी छोरी गंगा दाहालले बताइन् ।
यो स्थितिमा चीनले नेपाललाई गर्ने सहयोगप्रति नेपाली जनता आभारी हुने बताउँदै अध्यक्ष प्रचण्डले कोरोना भाइरसको प्रभाव चीनमा समाप्त भएर जनजीवन सामान्य हुँदै गएकोमा बधाईसमेत दिएका छन् ।
कोरोना भाइरस चीनको वुहान सहरबाट सुरु भएको मानिएको छ । पछि यसलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको थियो । चीनले आइतबार मात्रै कोरोना भाइरसको संक्रमण रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्कलगायतका सामान नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।




प्रतिक्रिया