काठमाण्डु – नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ र बागमती प्रदेशमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको छ ।
केन्द्रको नीतिअनुसार सबै प्रदेशमा सहमतिको माध्यममार्फत नेतृत्व चयन प्रयास भएपनि कसैको नाममा सहमति जुट्न नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि प्रदेश १ र बागमती प्रदेशमा चुनाव गर्न निर्देशन दिएको स्रोतले बतायो ।
माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीका आकांक्षी धेरै हुँदा अहिलेसम्म अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न सकेको छैन । गत मंसिर २५ र २६ गते मोरङमा सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले बिना पदाधिकारी २७१ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
प्रदेश १ को अध्यक्षमा ६ जनाले दाबी प्रस्तुत गरेका छन् । पाँचथरका हर्कबहादुर लावती, सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनबहादुर खत्री, झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्कीले प्रदेश अध्यक्षमा दाबी गरेका छन् ।
त्यस्तै यता बागमती प्रदेशमा पनि मंसिर २५ मा समपन्न अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । तर हालसम्म पनि अध्यक्षसहितको पदाधिकारी टुंगो लाग्न सकेको छैन ।
बागमतीको अध्यक्षको दौडमा काभ्रेका दीनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री, नुवाकोटका हिरानाथ खतिवडालगायत रहेका छन् ।




प्रतिक्रिया