काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्न आफूले प्रस्ताव गरे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको बताएका छन् । शनिबार जनकपुर उपमहानगरपालिका–१३ को चुनावी कार्यक्रममा बोल्दै उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न खोजे तर ओलीका कारण संविधान संशोधन हुन नसकेको बताएका हुन् ।
‘दोस्रोपटक प्रधानमन्त्री हुँदा संविधान संशोधनको प्रस्ताव दुई पटक दर्ता गराएँ, तर केपी ओलीकै कारणले संविधान संशोधन हुन सकेन । परिमार्जन हुन सकेन ।’ उनले भने, ‘एमाले मधेशी, आदिवासी, दलित, महिला, जनजाति, मुस्लिम विरोधी पार्टीको रुपमा स्थापित भएको छ, फेरि त्यही पार्टी जनतालाई भ्रम दिने गरी षड्यन्त्र गर्दैछ ।’ त्यसैगरी उनले सत्ता गठबन्धनकाविरुद्ध पनि गठबन्धन बनेको दावी गरे ।
‘हाम्राविरुद्ध पनि गठबन्धन बनेको छ, त्यो प्रतिगामी गठबन्धन हो । राजावादीहरुसमेत भएको, संघीयताविरोधी गठबन्धन बनेको छ,’ उनले भने, ‘त्यो जनताविरोधी तत्त्वहरूलाई यो निर्वाचनबाट बढारिदिनुपर्छ ।’ उनले स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पनि आग्रह गरेका छन् ।




प्रतिक्रिया