काठमाण्डु – नेकपा एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिएका नेता प्रभु साह पुरानै पार्टीमा फर्किने भएका छन् । उनी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि नेकपा माओवादी केन्द्रमा फर्किने तयारीमा रहेको माओवादीका एक नेताले बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग चुनावी तालमेल गरेपछि असन्तुष्ट बनेको नेता साहले रौतहट ३ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनले पार्टीले दिएको टिकट छाडेर स्वतन्त्रबाट उम्मेदवारी दिएपछि एमालेले उनलाई साधारण सदस्य समेतर नरहने गरि निष्कासित गरिसकेको छ ।
यता माओवादीले उक्त क्षेत्रमा साहलाई समर्थन गरेको छ । चुनावपछि पुरानै पार्टीमा फर्किने भएपछि माओवादी केन्द्रले पार्टीका उम्मेदवार रबीन्द्र पटेललाई निष्क्रिय रहन र प्रभु साहलाई समर्थन गर्न निर्देशन समेत दिइसकेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरिदिएपछि माओवादी केन्द्र मधेशमा कमजोर बनेको छ ।
मधेशमा पार्टीका कुनै पनि ठोस निर्णय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै लिने गरेका छन् । हालसम्म उनले कुनै पनि नेतालाई अघि सारेर मधेशको जिम्मेवारी दिएका छैनन् । त्यसैले मधेश सम्हाल्ने नेताको खोजीमा छन् उनी । साह एमालेबाट बाहिरिएपछि मधेशमा कमजोर बनेको माओवादी फेरि आफ्नो साख फर्काउने दाउमा छ ।
यता साह नेसपाका अध्यक्ष बाबुराम भट्टराईसँग पनि निरन्तर संवादमा रहेको स्रोत बताउँछ । बाबुरामले माओवादी छाड्नुअघि साह भट्टराई पक्षमै थिए । बाबुराम भट्टराई पनि चुनावपछि माओवादीमै फर्किने तयारीमा छन् । भट्टराईले माओवादीसँगको सम्बन्धलाई सुधारेर फेरि अध्यक्ष प्रचण्डलाई राजनीतिक रुपमै समर्थन गरिरहेका छन्।
उनले पार्टी नै एकताका लागि गृहकार्य समेत गरिरहेका छन् । आफ्ना पार्टीका उम्मेदवारलाई समेत माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडाबाट चुनावमा उठाएका छन्। भट्टराईले आफ्नो चुनाव क्षेत्र गोरखा–२ छाडेर प्रचण्डलाई उम्मेदवार बनाएका छन् ।
प्रचण्डले पनि नेसपासँगको सहकार्य चुनावी सहकार्यमात्रै नभएर पार्टी एकताको तयारीसमेत भएको बताउँदै आएका छन्। जसपाबाट अलग भएका भट्टराईले समाजवादी केन्द्र बनाउन छलफल अघि बढाएका थिए । तर तत्काल समाजवादी केन्द्र नबन्ने भएपछि उनी प्रचण्डसँगको सहकार्यमा पुगेका हुन्।
मधेशमा माओवादी कमजोर हुनु, साहलाई समर्थन गर्नु र निरत्तर संवादमा रहेका भट्टराईले माओवादीसँग एकताका लागि सहकार्य गर्नुले प्रभु साह पुन: पुरानै पार्टी माओवादीमा फर्किने सम्भावना रहेको स्रोत बताउँछ ।




प्रतिक्रिया