काठमाण्डु- नेकपा एमाले नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
वाग्लेले चार दिनअघि नयाँदिल्लीमा ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भनेपछि ज्ञवालीले उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र हितमा आँच पुर्याउन सक्ने टिप्पणी गरेका हुन्।
ज्ञवालीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने बताएका छन्।
‘विदेशी भूमि कुनै पनि सरकारी पदाधिकारीका लागि आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्ने थलो होइन,’ उनले लेखेका छन्।
नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको उल्लेख गर्दै ज्ञवालीले नेपालको परराष्ट्र नीतिको आधार सार्वभौम समानता, पारस्परिक हित र आपसी सम्मान हुनुपर्ने बताएका छन्।
उनका अनुसार कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्वका रूपमा बुझ्न मिल्दैन।
राष्ट्रिय हितका मुद्दा उठाउनु भारतविरोधी हुनु होइन
ज्ञवालीले नेपाल-भारत सम्बन्धमा लामो समयदेखि समाधान हुन नसकेका विभिन्न मुद्दा औँल्याउँदै ती विषयमा स्पष्ट र खुला कूटनीतिक संवाद आवश्यक रहेको बताएका छन्।
उनले सीमा विवाद, सन् १९५० को नेपाल-भारत शान्ति तथा मैत्री सन्धिका कतिपय प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ र बढ्दो व्यापार घाटालाई द्विपक्षीय सम्बन्धका महत्त्वपूर्ण सवालका रूपमा प्रस्तुत गरेका छन्।
त्यसैगरी, सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका बाँध तथा संरचनाका कारण नेपाली भूभागमा हुने डुबान र नेपालले माग गर्दै आएको वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा भारतले देखाउँदै आएको आनाकानीप्रति पनि उनले ध्यानाकर्षण गराएका छन्।
ज्ञवालीका अनुसार यस्ता विषय उठाउनु कुनै देशविशेषको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय हो। ‘यी विषय उठाउनु कुनै देश विशेषको विरोध होइन । यो नेपालको राष्ट्रिय हितको प्रश्न हो,’ उनले लेखेका छन्।
तुष्टीकरणले राष्ट्रिय स्वाभिमान बलियो बनाउँदैन
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय हितको रक्षा गर्नु प्रत्येक सरकारको दायित्व भएको बताएका छन्। नेपाल-भारत सम्बन्धमा रहेका संवेदनशील मुद्दामा राष्ट्रिय एकता र सहमति कायम गर्दै गम्भीर कूटनीतिक पहल गर्नुपर्ने उनको जोड छ।
उनले यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमान बलियो नबनाउने तर्क गरेका छन्।
वाग्लेको अभिव्यक्तिलाई लिएर ज्ञवालीले उठाएको प्रश्न मूलतः नेपालले भारतसँगको सम्बन्धलाई कुन आधारमा अघि बढाउने भन्ने विषयमा केन्द्रित छ।
दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने प्रयाससँगै सीमा, व्यापार, पारवहन र हवाई पहुँचजस्ता राष्ट्रिय हितका मुद्दालाई पनि समान महत्त्व दिनुपर्ने उनको भनाइ छ।
यसरी वाग्ले र ज्ञवालीबीचको मतभिन्नता भारतसँगको सम्बन्धमा अपनाउनुपर्ने कूटनीतिक भाषा, राष्ट्रिय स्वाभिमान र नेपालको राष्ट्रिय हितका मुद्दा उठाउने शैलीसँग जोडिएको देखिन्छ।


प्रतिक्रिया