काठमाण्डु – सरकारले काठमाण्डु उपत्यका कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएको छ ।
बुधबार मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले काठमाण्डु उपत्यका कोरोनाको उच्च जोखिममा रहेकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।
‘काठमाण्डु उपत्यका कोरोनाका उच्च जोखिम छ । धेरै संक्रमित काठमाण्डु उपत्यकामा छन् । काठमाण्डु उपत्यकावासीले उच्च सावधानी अपनाउनु हुन अनुरोध गर्दछौं’, उनले भने ।
परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता ज्ञवालीले सार्वजनिक यातायात, निजी व्यवसाय सञ्चालन गर्दा उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । कोरोनाको जोखिम देशभर घट्दै गए पनि काठमाण्डु उपत्यकामा बढिरहेकाले सावधान रहन अनुरोध गरेका छन् ।
‘दशैँको महत्वपूर्ण पक्ष भनेको पारिवारिक पुनर्मिलन र अग्रजबाट शुभाशिष लिने हो, तर यस्तो अवस्थामा परिवारका ज्येष्ठ सदस्यको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । त्यसो हुनाले दशैँ मनाउँदा आफ्ना अभिभावकको सुरक्षा संवेदशनीलतालाई असाध्यै ध्यानमा राख्न जरुरी छ’, मन्त्री ज्ञवालीले भने ।
विगतमा जस्तो गाउँगाउँबाट काठमाण्डु ओहोरदोहोर गर्दा सङ्क्रमण फैलने जोखिम उच्च हुने भन्दै उनले टेलिफोनमार्फत आर्शिवाद लिन सकिने बताए । ‘परिवारका ज्येष्ठ सदस्य सुरक्षित रहनुभयो भने यस्ता अवसर पटकपटक आउँछन्’, उनले भने, ‘तर हाम्रो सानो लापरवाहीले उहाँहरुको स्वास्थ्यमा ठूलो जोखिम बढ्न सक्छ ।’
नेपालमा पछिल्लो समय ६० वर्ष मुनिका व्यक्तिमा कोरोना सङ्क्रमण दर र मृत्युदर तुलनात्मकरुपमा कम देखिएको छ । केही दिनयता नेपालमा कोरोनाका कूल सङ्क्रमितको आधाभन्दा बढी सङ्ख्या काठमाण्डु उपत्यकामा देखिन थालेको छ ।
‘चाडबाड नजिक आउँदैछ । हामी स्वस्थ रह्यौं भने फेरी पनि चाडबार्ड मनाउन सक्छौं । जेष्ठ अग्रजहरुबाट शुभकामना लिने हो । तर, उच्च जोखिममा बुवा आमा हुनुहुन्छ । अभिभावकको सुरक्षा गर्नु होला , काठमाण्डुबाट गाउँ गाउँबाट काठमाण्डु गर्दा जोखिम धेरै हुन्छ । आर्शिवाद टाढैबाट लिन सकिन्छ । ६० वर्षभन्दा माथिकाहरुमा जोखिम धेरै छ’, उनले भने ।




प्रतिक्रिया