काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा बाँकी ठाउँमा रहेका विवाद समाधान गर्न नेपालले सकेसम्म छिटो वार्ताको प्रक्रिया सुरु गर्न चाहेको बताएका छन् ।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि शुक्रबार आयोजित इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सको कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल र भारतको बीचको १८,०० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाको संयुक्त मापन गरेको र केही किलोमिटर सीमामा कामहरु बाँकी रहेको बताएका हुन् ।
उनले भने,‘बाँकी खण्डमा एक सहमतिमा पुग्दा यसले हामीलाई अन्तर्राष्ट्रिय सीमालाई पूर्ण रुपमा समाधान भएको अवस्थामा मात्र पु¥याउँदैन, यसले सर्वसाधारणको भावनामा सकारात्मक भाव उत्पन्न गर्छ र दुई पक्षीय सम्बन्धमा विश्वासको वातावरण बनाउँछ ।’ उनले भने,‘मलाई पूर्ण रुपमा विश्वास छ, हामी त्यो चरणमा पुग्ने छौं ।’
त्यस्तै उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले तयार गरेको प्रतिवेदनलाई भारत सरकारले कुनै ढिलाइ बिना कार्यान्वयन गर्नुपर्ने बताएका छन् । मन्त्री ज्ञवालीले उक्त प्रतिवेदन बुझ्नु र कार्यान्वयन गर्नु दुबै सरकारको दायित्व भएको बताए ।
‘बदलिएको राजनीतिक, सामाजिक र आर्थिक आयाममा दुबै देशले सम्बन्ध स्थापना गर्नुपर्ने बेला आएको छ’, उनले भने ।
साथै उनले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिइने समेत बताए ।
उनले भने, ‘हामी दुई छिमेकी देशसँग नेपालको तुलना गर्न चाहन्नौं तर, दुबै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न दिइने छैन ।’




प्रतिक्रिया