काठमाण्डु – नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्कन प्रतिक्रिया दिएकोमा टिप्पणी गरेका छन्।
एमालेका पूर्वउपमहासचिवसमेत रहेका ज्ञवालीले राजतन्त्र फर्कन सक्ने विषयमा पूर्वराष्ट्रपति भण्डारीको भनाइ उदेक लाग्यो भएको टिप्प्णी गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गर्दै लेखेका छन्, ‘पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैँ उभिएको धरातलप्रति विश्वास किन डगमगायो ?’
पार्टीको अनुमोदित नेतृत्वलाई छुट्टै भेला गरेर चुनौती दिने कार्यको पनि विरोध ज्ञवालीले गरेका छन्। उनले तीन महिनामा तंग्रिएको एमालेको विरासतलाई पनि लोकतन्त्र बहालीमा लगाउनु पर्नेमा पुरानै मुद्दामा जानु अनुचित हुने बताएका छन्।
उनले लेखेका छन्, ‘हिजो अस्तिका दुई दृश्यले आँखा बिझायो । महाधिवेशनसकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन। महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि मुद्दा कायमै रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ। यसो हुनुहुँदैन।’
उनले एकवर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो–केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न। महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको बताएका छन्।
‘अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैँन। तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याइपु¥याएका छौँ । तर जित्नु पर्ने लोकतन्त्र बहालीको लडाइँ, सफल हुनै पर्ने संविधान रक्षाको लडाइँ र पार गर्नु पर्ने स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानको यात्रा बाँकी नै छ। अब हाम्रो समग्र ऊर्जा यसमै केन्द्रित हुनुपर्ने होइन र’, उनले लेखेका छन् ।





प्रतिक्रिया