महंगी बढ्ने र जनताको ढाड सेकिइरहने हो भने सत्तामा बस्नु कुनै जरुरी छैन : प्रदीप पौडेल


काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा बसेर काम गर्न नसक्ने भए सरकारबाट बाहिरिनुपर्ने सुझाव दिएका छन् ।

कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले महंगी निरन्तर बढिरहँदा सरकारमा बसिराख्न जरुरी नभएको बताए ।

‘महंगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै जरुरी छैन,’ उनले भने ।

२०८४ सालको चुनावको चिन्ता गरेको भए पार्टीलाई सत्ता छाड्न वा सरकारमा बसेर काम गर्न उनले आग्रह गरे । ‘२०८४ को चिन्ता गरेको हो भने कि सत्ता छोडौं कि त सत्तामा बसेर जनताको पक्षमा काम गरौं ?’ उनले भने, ‘केही व्यक्तिलाई मन्त्री बनाउन हामी सत्तामा जान जरुरी छैन । म जान नपाएर भनेको होइन । जनताको काम गर्न सत्तामा जाने हो । मेरो साथीले जनताको पक्षमा काम गर्नुपर्‍यो ।’

वर्तमान सरकारबाट रोजगारी सिर्जना हुन नसकेको उनले बताए । ‘हामीले घोषणा पत्रमा १२ लाख नयाँ रोजगारी कुरा लेखिएको छ । हामी सरकारमा सहभागी भएको ८ महिना भयो । त्यसको संकेत देखिएको छैन,’ उनले भने, ‘सुशासनको पक्षमा के–के गरिन्छ भनेर घोषणा पत्रमा लेखिएको थियो ?’

काम नगर्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेर नेतृत्वले भन्न सक्नुपर्ने पौडेलले बताए । ‘प्रधानमन्त्रीलाई यति काम गर, नत्र समर्थन फिर्ता लिनुपर्छ भनेर नेतृत्वले भन्नुपर्छ,’ उनले भने ।

पार्टीका कामकारबाही कछुवा गतिमा भइरहेकोमा उनले असन्तुष्टि जनाए । मिश्रित निर्वाचन प्रणालीले कुनै पार्टीलाई बहुमत दिन सक्दैन भने प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि संसद्लाई समावेशी बनाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement