काठमाण्डु – प्रदेश १ को प्रदेशसभाको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । तर आजको बैठक पनि सत्ता पक्षकै सांसदले अवरुद्ध गर्ने तयारी गरेका छन् ।
नेकपाको प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।संसद् सचिवालयले आजको बैठकमा मुख्यमन्त्री राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि नेकपा ओली समूहले बैठक अवरुद्ध गर्ने तयारी गरेको हो ।
यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए । ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठक पनि अवरुद्ध गरिने बताए ।
सरकारविरुद्धको अविश्वासको प्रस्तावलाई प्रक्रियामा लैजानुको साटो ओली पक्षका सांसदले बैठक नै अघि बढ्न नदिने रणनीति लिएका छन् । ओली पक्षले प्रचण्ड–माधव पक्षका १६ सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिने निर्णय गरेको छ भने प्रचण्ड–माधव पक्षले ओली समूहका ८ जना सांसदलाई कारवाही गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसले भने सदन रोक्न नमिल्ने बताएको छ । कांग्रेस प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले सरकार पक्षले सदन रोक्न नमिल्ने बताउँदै आइतबार आजबाट निरन्तर रुपमा अघि बढ्नु पर्ने बताए ।




प्रतिक्रिया