प्रदेश १ः भीम आचार्यलाई मुख्यमन्त्री बनाउन शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश १ः भीम आचार्यलाई मुख्यमन्त्री बनाउन शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


बिराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज (आइतबार) अविश्वास प्रस्ताव दर्ता भएको छ ।

नेकपाको प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोको अगुवाइमा ३७ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार (आज) फस्टआवरमै प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

प्रस्तावमा नयाँ मुख्यमन्त्रीका रूपमा नेकपाका स्थायी कमिटी सदस्य भीम आचार्यको नाम राखिएको छ ।

यसअघि शनिबार साँझ मात्रै मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको भन्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए ।

साथै आज प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् सदर गरेर चुनाव घोषणा गरेपछि सत्तारूढ नेकपा औपचारिक रूपमै विभाजन भइसकेको छ ।

ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले आफू आधिकारिक नेकपा भएको दाबी गर्दै छुट्टाछुट्टै बैठक गरिरहेका छन् । त्यसैको असर प्रदेश सरकारमा पनि देखिन थालेको हो ।