काठमाण्डु – नेकपा एमाले विभाजनको असर प्रदेश १ मा पनि देखिन थालेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गराएपछि एमालेको एकल बहुमत रहेको प्रदेश १ सरकार ढल्ने निश्चितप्रायः भएको छ ।
मुख्यमन्त्री शेरधान राईको नेतृत्वमा सरकार रहिरहने सम्भावना कम देखिएपछि सरकार जोगाउन र सांसदलाई होल्ड गर्न एमालेको केपी ओली पक्षले सरकार परिवर्तनको रणनीति अपनाउन थालेको छ ।
मुख्यमन्त्री राई नेतृत्वको सरकारलाई अन्य दलसँग मिलेर ढाल्न पुग्ने संख्या आफूसँग रहेको एमाले माधव नेपाल समूहले दाबी गरिरहेका छन् । मुख्यमन्त्री राई संकटमा पर्ने देखिएपछि पार्टीका सचिव भीम आचार्यलाई मुख्यमन्त्री बनाउने एमालेमा चर्चा छ ।
प्रदेशसभामा बहुमत गुम्ने अवस्था आएपछि सांसदहरुलाई विभाजनतर्फ जान नदिने उदेश्यले एमालेले मुख्यमन्त्रीको विकल्पका रुपमा आचार्यलाई मुख्यमन्त्री बनाउने कसरत थालेको हो ।
आचार्यलाई मुख्यमन्त्री बनाएरै भए पनि प्रदेशमा पार्टी एकता जोगाउने विकल्प एमालेले अघि सारेको छ । पार्टी एकताका लागि आफूहरू सरकार छाड्न तयार रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए । तर, केही दिनअघिसम्म मुख्यमन्त्री बन्ने दौडमा रहेका आचार्यले भने अहिले इच्छा नदेखाएको प्रदेश १ का सांसद उपेन्द्र घिमिरेले बताए ।
यसअघि दुई पटकसम्म मुख्यमन्त्री बन्ने प्रयासमा विफल बनेका आचार्यले यसपटक इच्छा नदेखाउनुको कारण संसद्को अंकगणित भएको स्रोतले बतायो ।
प्रदेश १ मा कुल ९३ जना प्रदेशसभा सदस्य रहेका छन् । ९३ मध्ये नेकपा एमालेका ५१ सदस्य छन्, जसमध्ये १९ जना माधवकुमार नेपाल समूहमा थिए । तर भीम आचार्य, जीवन घिमिरे, यशोदा अधिकारी, सावित्रा जोशी र सरिता थापाले नेपाल समूह छाडेका छन् । उनीहरु कुनै पक्षमा खुलेका छैनन् ।
कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक हुन्छ । तर, माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एमालेका ५१ मध्ये १५ सांसद सामेल छन् । योसँगै एमालेमा अब ३६ सांसद मात्र सीमित रहने छन् ।
एमालेलाई बहुमतका लागि थप ११ सांसद आवश्यक हुने देखिन्छ । विद्यमान समीकरणमा एमालेलाई बहुमतको अंक गणित जुटाउन निकै कठिन देखिन्छ । माधव नेपाल पक्षमा उभिएका आचार्यबाहेकका सांसद उनकै साथमा रहने सम्भावना बलियो भएपछि आचार्य अघि बढ्न हच्केका हुन् ।
यता, कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने नेपाल नेतृत्वमा बनेको नेकपा एमाले समाजवादीका शीर्ष नेताहरूले पनि प्रदेश १ मा गठबन्धनको सरकार बनाउने कसरत गरिरहेका छन् । एमाले समाजवादीका नेताहरुले दाबी गरे जस्तो १५ सांसदले नयाँ पार्टी रोजे गठबन्धनको सरकार सुनिश्चित हुन्छ । गठबन्धनको नयाँ सरकार बन्दा मुख्यमन्त्री को बन्ने ? भन्ने प्रश्न छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला र एमाले समाजवादीका नेता राजेन्द्र राई सम्भावित उम्मेदवार हुन् ।
गठबन्धनको सरकार निर्माण हुँदा प्रदेश १ को नेतृत्व एमाले समाजवादीले पाउने सम्भावना बढी छ । पार्टीमा फर्किए एमाले समाजवादी पनि भीम आचार्यलाई नै मुख्यमन्त्री बनाउने प्रयत्नमा छ । प्रदेश १ मा माधव नेपाल पक्षका सांसदमध्ये तीन जना मात्रै एमाले केन्द्रीय कमिटीमा थिए । तीमध्ये भीम आचार्य र जीवन घिमिरेले नेपाललाई साथ नदिएपछि राजेन्द्रको सम्भावना बलियो बनेको हो ।
समाजवादीले नेतृत्व नपाएको अवस्थामा कांग्रेसले प्रदेशको नेतृत्व गर्ने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेकाले प्रदेश १ को मुख्यमन्त्रीमा भने माओवादीले दाबी गरेको छैन । कांग्रेसले नेतृत्व गर्ने अवस्थामा कांग्रेस संसदीय दलका नेता राजिव कोइराला मुख्यमन्त्री बन्नेछन् ।
को–को सांसद छन् माधवको साथमा ?
१९ जना सांसदहरुमध्ये भीम आचार्य, जीवन घिमिरे, यशोदा अधिकारी, सावित्रा जोशी र सरिता थापाले नेपाल समूह छाडेका छन् । ‘हाम्रो समूहको केहि सदस्यबाहेक अरू सबै टिममा हुनुहुन्छ । पार्टी विभाजनको प्रकृया सकिएपछि प्रदेशमा गठबन्धनको नयाँ सरकार बन्छ,’ नेता राईले काठमाण्डुपाटीसँग भने ।
नेपा समूहमा रहेका सांसदहरुमध्ये राजेन्द्र राई, राजन राई, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, गणेश काङमाङ, सुनिता चौधरी, सावित्रा रेग्मी, उपेन्द्र घिमिरे, पदमकुमारी गुरुङ, लक्ष्मण तिवारी, बलबहादुर साम्सोहाङ, होमकुमारी साँवा खुलेरै माधव पक्षमा उभिएको नेता राईले बताए । अर्का सांसद् लिलाबल्लभ अधिकारी अहिले भारत गएका छन् । उनी कुन समूहमा उभिन्छन भन्ने यकिन छैन ।




प्रतिक्रिया