काठमाण्डु – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका एमालेका १० जना सांसदले होटल छोडेका छन् । पछिल्लो केही दिनदेखि विराटनगरको एक होटलमा बस्दै आएका १० जना सांसदहरु बुधबार एकैचोटि दल दर्ताका लागि विराटनगर आइपुग्ने गरी पहाडतर्फ लागेका हुन् ।
मुख्यमन्त्री भीम आचार्य नेतृत्वलाई विश्वासको मत पुर्याउन र सरकारको सहज अवतरणका लागि गर्मागर्मी चलिरहँदा समाजवादीका १० जना सांसद दुई दिनको बसाइंका लागि साेमबार साँझ धरानतर्फ लागेको समाजवादीका प्रदेश सभासदस्य राजेन्द्र राईले जानकारी दिए ।
‘सत्तापक्ष एमालेले भने एकीकृत समाजवादीले सांसदहरुलाई होटलमा बन्धक बनाएको आरोप लगाएपछि होटल छाडेका हौँ । भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुन्छ,’ उनले भने ।
आफूसँग १० जना सांसद रहेको बताएका राईले एमालेका केही सांसद थप हुने बताए । समाजवादीको एकता कायम राख्न र पछिल्लो घटनाक्रमलाई हेर्दै टोली पहाडी क्षेत्र हिँडेको पार्टीका प्रचार विभाग प्रमुख वासिम आलमले बताए । उनका अनुसार टोली धरान र धनकुटामा रहनेछन् ।
प्रदेशमा एमालेको ५१ जना सांसदको आँकडामध्ये १० जना सांसद समाजवादीतर्फ उपस्थित हुँदा बहुमत नपुग्ने र सरकारले विश्वासको मत हासिल गर्न नसक्ने समाजवादीको दाबी छ ।
प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् ।
विराटनगर बसाइका क्रममा विपक्षीबाट भएका दबाब कम गराउने उद्देश्यसहित टोली पहाडीक्षेत्र लागेको बताइन्छ ।




प्रतिक्रिया