प्रदेश १ : विश्वासको मत लिँदै भीम आचार्य, राजेन्द्र राई मुख्यमन्त्री बन्दै

प्रदेश १ : विश्वासको मत लिँदै भीम आचार्य, राजेन्द्र राई मुख्यमन्त्री बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रदेश १ मा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदैछन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यको आज प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने कार्यसूची छ ।

गण्डकी र वागमतीपछि प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । राजनीतिक परिस्थितिमा कुनै उलटफेर नभएमा आज अविश्वासको प्रस्तावमा मतदान भएर भीम आचार्यले मुख्यमन्त्री गुमाउने छन् ।

गत कात्तिक ७ मै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारी गरेका थिए । तर, सोही दिन नेपाली कांग्रेसका सांसदले मुख्यमन्त्री आचार्यलाई भोट दिने हल्ला चलेपछि कांग्रेसले प्रदेशसभामा निवेदन दर्ता गराएर बैठक स्थगत गर्न माग गरेको थियो ।

कांग्रेसको पत्रलगत्तै एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले समेत पत्र लेखेर थप स्थगनको माग गरेका थिए । दुवै पक्षको पत्र लिएर सभामुख प्रदीपकुमार भण्डारीले सदन कात्तिक १४ सम्म स्थगन गरेका थिए ।

कांग्रेसले अग्रसरता लिएर अचार्यलाई विश्वासको मत नदिने निधो गरेको छ । मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्र राईलाई अगाडि सारिएको छ । आइतबार बसेको विपक्षी गठबन्धनको बैठकमा सबैभन्दा ठुलो दल कांग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै राईको सत्तारोहण लगभग निश्चित देखिन्छ ।

नेपाली कांग्रेसका शिर्ष नेता शेखर कोइरालादेखि रक्षामन्त्री मिनेन्द्र रिजालले केही समय अगाडिसम्म प्रदेश १ मा कांग्रेसको मुख्यमन्त्री हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

आइतबारको गठबन्धन बैठकले भने मुख्यमन्त्रीमा राजेन्द्र राईलाई सहयोग गर्ने सर्वसम्मत निर्णय गरेको हो । नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले गठबन्धनले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र राजेन्द्र राईलाई नयाँ मूख्यमन्त्री बनाउने निर्णय गरेको बताए ।

प्रदेश १ मा कुल ९२ सांसद मध्ये एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अपुग छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन ।

उनीहरुमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ हुन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।