काठमाण्डु – प्रदेश नम्बर २ को नाम र राजधानी टुंगो लगाउन १६ सदस्यीय समिति गठन गरिएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा ‘राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समिति–२०७८’ गठन गरिएको हो ।
समितिमा सभामुख यादव, उपसभामुख उपमा देव, उपसभामुख उपेन्द्रप्रसाद कुशवाहा, सदस्यहरु किशोरी साह (कमल), जगतप्रसाद यादव, दिलीपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थपा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव,सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरीता साह रहेका छन् ।
दलीय सहमतिका अधारमा गठन गरिएको समितिले १५ दिन प्रतिवेदन तयार पार्नुपर्नेछ । समितिले आवश्यक परे स्थलगत भ्रमण तथा अन्तरक्रिया र छलफल पनि गर्न सक्नेछन् । समितिले तयार पारेको प्रतिवेदनका आधारमा प्रदेशसभाबाट नाम र राजधानी तय गरिनेछ । सहमति नजुटे प्रदेशसभामा निर्वाचन प्रक्रियाबाट नाम र राजधानी तय हुने सभामुख यादवले जानकारी दिए ।
यसअघि, दुईपटक नाम र राजधानीको प्रस्ताव दुईतिहाइ नपुग्दा असफल भएको थियो । प्रदेश २ को नामाकरणका लागि प्रदेश सभा बैठकमा ‘मधेश’, ‘जानकी’, ‘मध्य मधेश’ र ‘मिथिला भोजपुरा’ नाम पेश भएका छन् । सत्तारूढ जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र)ले ‘मधेश’ नाम प्रस्ताव गरेका हुन् भने प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसको समर्थन गरेको छ ।
त्यस्तै, अर्को सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ को नाम ‘जानकी’ प्रस्ताव गरेको छ । कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको छ भने कांग्रेसकै सांसद राजेश्वरप्रसाद साहले ‘मध्य मधेश’ नाम प्रस्ताव पेश गरेका छन् । नेकपा (एमाले)ले पनि छुट्टै प्रस्ताव पेश गर्ने तयारी गरेपनि हालसम्म कुनै नाम पेश गरेको छैन ।




प्रतिक्रिया