सरकार-एमालेबीच वार्ता : यही अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाउने सहमति

सरकार-एमालेबीच वार्ता : यही अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रदेश १ को नामकरणको विषय यही अधिवेशनबाट टुंगो लगाउन सहमत भएका छन् । सरकारका तर्फबाट जयराम यादव र एमालेको तर्फबाट हिक्मतकुमार कार्कीबीच यस्तो सहमति भएको हो ।

प्रदेशको स्वास्थ्य मन्त्रालयमा भएको छलफलबाट उक्त सहमति भएको प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका संयोजक यादवले जानकारी दिए ।

यता, पूर्वमन्त्रीसमेत रहेका कार्कीको सचिवालयले पनि छलफलबाट यही बजेट अधिवेशनभित्र अन्य दलहरूसँग पनि छलफल गरेर प्रदेशको नामाकरणलाई सार्थक निष्कर्षमा पुर्याउने सहमति भएको जनाएको छ ।

यसअघि प्रदेश १ को नामाकरणको विषयमा छलफल गर्न नेकपा एमाले प्रदेश १ संसदीय दलले निर्माण गरेको कार्यदलले कांग्रेस संसदीय दलसँग छलफल गरेको थियो । उक्त छलफलमा दुवै दल यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउन सहमत भएका थिए ।

गत फागुन १० गते ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि अलमलमा रहेको भन्दै प्रदेश १ मा पहिलो पटक सर्वदलीय बैठक भएको थियो । त्यसयता छलफल रोकिएको थियो । बजेट अधिवेशन सुरु भएलगत्तै भने प्रदेश नामाकरणको विषयमा पुनः छलफल अगाडि बढेको छ ।

प्रदेश संसद गठन भएको ५ वर्ष पुग्न लाग्दा पनि प्रदेशको नामाकरणको टुंगो लाग्न सकेको छैन । प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति हुने सम्भावना कमजोर छ ।