प्रदेश सांसदलाई झापड हानेपछि दुई नम्बर प्रदेशमा बिवाद


जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी प्रदेश २ की सांसद मन्जु यादवले सहकर्मी सांसद किशोरी साहलाई संसदीय दलकै कार्यालयमा झापड हानेपछि अहिले पार्टी भित्र यो विवादले उग्र रुप लिएको छ।

गत मंगलबार प्रदेशसभाको बैठक सुरु हुनु पूर्व संसदीय दलको कार्यालयमा सांसद यादवले साहलाई एक झापड हानेकी थिइन्। यादवले संसदीय दलका नेता सत्यनारायण मण्डल र पार्टीका अन्य सांसदको अगाडि नै साहलाई झापड हानेपछि विवादले उग्र रुप लिएको हो। झापड हान्ने सांसदमाथि कारबाहिको प्रक्रिया अगाडि बढाउने तयारी सुरु भएको छ।

झापड प्रकरणमा बोल्दै संसदीय दलका नेता मण्डलले सांसद यादव निकै छाडा र अमर्यादित रुपमा प्रस्तुत भएर आफ्नै सहकर्मीमाथि हात छाडेको हुनाले उनलाई हदैसम्मको कारबाही गर्न पार्टी केन्द्रीय कमिटिलाई अनुरोध गरेको बताए। मण्डलले भने, ‘आफ्नो पदको गरिमा बिर्सेर उनले मर्यादाको सबै हद पार गरेकी छन्। उनको यस्तो व्यवहार प्रति हामी आश्चर्यचकित भएका छौं’, मण्डलले यादवमाथि आक्रोश व्यक्त गर्दै भने, ‘नेतृत्व क्षमता नै नभएकालाई समानुपातिकमा सांसद बनाइएपछि यस्तै अवस्था आइपुग्छ।’

किन हानियो झापड ?
मंगलबार संसदीय दलको कार्यालयमा प्रदेश सरकारको नीति तथा कार्यक्रमका लागि नेकपा पार्टीका सांसदले आवश्यक योजना छनोट गरेर संकलन गरी मुख्यमन्त्रीलाई बुझाउने कार्यक्रम थियो। दलका नेता मण्डलले योजनालाई टाइप गरी संकलन गर्न दुई सहयोगी बोलाएका थिए।

‘हामीलाई संसद सचिवालयबाट कुनै ल्यापटप वा कम्प्युटर दिइएको छैन्। योजना लेख्नका लागि दुईजना भाइलाई सहयोग गर्न बोलाएको थिएँ। सबै सांसदहरुले हातैले आ–आफ्नो योजनाहरु लेखेर ल्याप्टपमा टाइप गरेर टाइप गर्न दिइरहेका थिए’, दलका नेता मण्डलले घटनाबारे जानकारी गराउँदै भने, ‘तर, सोही क्रममा सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्छु भनेर ल्यापटप मागिन्।’ सहयोगीले ल्यापटप दिनुको साटो ‘योजना लेखेर ल्याउनुहोस्, हामी टाइप गरिदिन्छौं’, भने। तर, यादवले ल्यापटप पुनः माग गरिन्।

सोही विषयलाई लिएर ल्यापटप लिएर आएका युवा र सांसद यादवबीच वादविवाद सुरु भयो। विवाद बढेपछि दलका नेता मण्डल आफ्नो कार्यकक्षबाट उठेर विवाद भएकै ठाउँमा पुगे। ‘कामरेड तपाई हातले लेखेर दिनुहोस् भाइहरुले टाइप गरिदिन्छन्। गल्ती भए फेरि पढेर सच्याउन सक्नुहुन्छ’, मण्डलले सम्झाउने कोशिस गरे। तर, सांसद यादवले आफू टाइप गर्न सक्ने भएकाले ल्यापटप दिनुपर्यो भन्दै ढिपी गरिन्। आजको अन्नपुर्ण पोष्टमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement