काठमाण्डु – सातै प्रदेशमा आफ्नो पकड जमाएको नेकपा एमाले दई प्रदेशमा भने कमजोर देखिएको छ । नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई प्रदेशमा आफ्नो पकड जमाउँन सफल भएको हो ।
सामान्यतया कुनै पनि दल विभाजन हुँदा मूल दलको तुलनामा विभाजनपछि गठित नयाँ दलको आकार सानो र संगठनात्मक अवस्था कमजोर नै देखिन्छ । तर, नेकपा एमाले विभाजनपछि बनेको नेकपा एसको सन्दर्भमा प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा त्यो मान्यता गलत साबित भएको छ ।
समाजवादी पार्टीका कार्यालय मुख्यसचिव गंगालाल तुलाधरले लुम्बिनी र गण्डकीमा नेकपा एकीकृत समाजवादी सोचेभन्दा कमजोर बनेको र दुई प्रदेशमा आफ्नो पार्टीले पकड जमाउन सफल भएको बताए ।
प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । बाँकी २ जनाले आज दिउँसोसम्म नेकपा एसको पक्षमा सनाखत गर्ने बताइएको छ ।
त्यस्तै सुदुरपश्चिम प्रदेशमा आफनो पकड जमाएको एमाले दल विभाजनपछि कमजोर बनेको छ । प्रदेशसभामा एमालेका २५ सांसदमध्ये पार्टी विभाजनपछि १४ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । अब एमालेसँग ११ जना सांसदमात्र बाँकी छन् ।
यो प्रदेशमा पनि मूल पार्टीको तुलनामा विभाजन भएर बनेको माधव नेतृत्वको नयाँ दल ठुलो देखिएको हो । नौ वटा जिल्ला रहेको प्रदेशमा ५२ प्रदेश सांसद छन् । माओवादी १३, कांग्रेस १२ र जनता समाजवादी पार्टीको २ जना सांसद छन् । १४ सांसद लिएर सुदूरपश्चिममा एकीकृत समाजवादी पहिलो पार्टी बनेको सांसद तारा लामाले बताइन् ।
प्रदेश १ मा भने एमालेका १० जना प्रदेशसभा सदस्यले नेकपा एस राजेका छन् । सांसदहरु राजेन्द्रकुमार राई, राजन राई, पदमकुमारी गुरुङ, गणेशकुमार काम्बाङ्ग, खिनु लङबा लिम्बू, सुनिताकुमारी चौधरी, सरिता थापा, सावित्राकुमारी रेग्मी,कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।
यता एमालेबाट विद्रोह गरेर बनेका नेकपा एकीकृत समाजवादी लुम्बिनी र गण्डकी प्रदेशमा भने निकै कमजोर देखिएको छ । गण्डकीमा एक जनाले पनि एमालेको साथ छोडेनन् । यता लुम्बिनीमा एक जनाले मात्र एकीकृत समाजवादीमा सनाखत गरेका छन् । त्यस्तै बागमती प्रदेशका १३ सांसदले नयाँ पार्टी राजेका छन् । ५५ सांसदमध्ये १३ सांसदले माधव नेतृत्वको नेकपा एस राजेका हुन् ।
कर्णाली प्रदेशमा निलम्बितसहित ७ प्रदेश सांसद नयाँ पार्टीमा खुलेका छन् । सातै प्रदेशमा गरेर एमालेका २ सय ३२ प्रदेश सभा सदस्य थिए । एमालेबाट प्रदेश १ मा ५१, प्रदेश २ मा २१, बागमती प्रदेशमा ५५, गण्डकी प्रदेशमा २७, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २५ सांसद थिए ।
सोमबार बेलुकासम्म २२ प्रतिशत अर्थात ५१ जना प्रदेश सांसदले एकीकृत समाजवादी पार्टी राजेका छन् । सरकारले भदौ १ गते राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि माधव नेपालले नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गराएका थिए । सरकारले अध्यादेश ल्याएको २१ दिनभित्र दल परिवर्तन गरे प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको पद नजाने आयोगको निर्णय छ । निर्वाचन आयोगले नयाँ दलमा सनाखतका लागि दिएको समय आज २२ गते सकिँदैछ ।
एकीकृत समाजवादीमा खुल्ने प्रदेशका सांसदहरुको संख्या यकिन भएपनि स्थानीय तहको पूर्ण विवरण आइसकेको छैन । स्थानीय तहमा पनि मेयर, प्रमुख भन्दा बढी वडाअध्यक्ष, वडासदस्य एकीकृत समाजवादी पार्टीमा खुलेका छन् ।




प्रतिक्रिया