काठमाण्डु – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकार ढुक्कसँग ३ वर्ष चल्ने भएपछि बाहिरका दललाई छटपटाहट भएको टिप्पणी गरेका छन् ।
एमाले पर्वतले आईतबारदेखि सञ्चालन गरेको ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गरे ।
‘सरकार ढुक्कसँग ३ वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भयो,’ उनले भने । मुलुकमा देखिएको संकट समाधान गर्नकै लागि २ ठूला दल एकठाउँमा आएको बताउँदै उनले नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति बनेको बताए ।
वर्तमान सरकार कुनै पनि संकटमा नपर्ने उपमहासचिव ज्ञवालीले बताए । सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उनले बताए । कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उनले बताए ।
सरकारले ल्याएको अध्यादेश संविधान अनुसार नै आएको उपमहासचिव ज्ञवालीले बताए । मुलुकमा तत्काल देखिएका समस्या समाधान गर्न अध्यादेश ल्याएको र यसको सरकारको आयुसँग सम्बन्ध नरहेको उनले बताए ।




प्रतिक्रिया