काठमाण्डु – नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।
शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मा लगायत उच्च अधिकारीले मन्त्री यादवलाई सम्मानपूर्वक स्वागत गरे ।
मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकास सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न नयाँदिल्ली पुगेका छन् । समझदारी पत्रमा फागुन १९ गते सोमबार नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रमा आपसी सहयोग विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर गरिनेछ । सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवद्र्धन तथा फोहोर व्यवस्थापनमा ठोस सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल सरकारको हालसम्मका प्रयासलाई थप सशक्त बनाउने लक्ष्य समेत सम्झौताले बोकेको छ ।
नेपाल–भारतबीचको आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने सम्झौता दुवै देशका नागरिकका लागि लाभदायक हुने विश्वास गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मंगलबार स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।




प्रतिक्रिया