काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा निस्किँदैछन् । शनिबार दिउँसो ४ बजेपछि भ्रमण टोली रुस प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राजदूत र अन्य सरकारी अधिकारी रहने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन् । त्यस क्रममा नेपाल र रुसबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
रुसमा रहँदा मन्त्री ज्ञवालीले नेपाल–रुस सम्बन्धबारे त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी संस्थाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
उनले रुसका राजनीतिक पार्टीका नेता र गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग पनि भेटघाट गर्ने छन् । त्यस्तै मन्त्री ज्ञवाली मंसिर ११ गते सर्वियाको बेलग्रेड पुग्नेछन् ।
यही महिना नेपाल र सर्बियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्दैछ । सर्बियामा रहँदा उनले उपप्रधान तथा विदेश मन्त्रीसँग भेट गर्ने छन् भने उच्च तहमा शिष्टाचार भेटवार्ता गर्ने छन् ।
त्यस्तै लगानी र पर्यटन प्रवद्र्धनका लागि स्थानीय चेम्बर्स अफ कर्मसले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा पनि मन्त्री ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम छ ।
मन्त्री ज्ञवाली मंसिर १४ गते स्वदेश फर्किने छन् ।




प्रतिक्रिया