दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउँछु : स्वास्थ्यमन्त्री पौडेल

दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउँछु : स्वास्थ्यमन्त्री पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रदेशबाट जग्गा प्राप्तिका लागि स्वीकृति आउना साथ दमौली अस्पताललाई ५० शय्यामा स्तरवृद्धिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दमौली अस्पतालको स्तरोन्नतिका लागि आग्रह गर्न मन्त्रालय पुगेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले सहितको टोलीसँग मंगलबार मन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरे ।

गत हप्ता अस्पतालको निरीक्षण गरिसकेका मन्त्री पौडेलले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पतालका नाममा रहेको साढे ३ रोपनी जग्गा अस्पताललाई उपभोग गर्न दिन प्रदेशबाट स्वीकृति पाए लगत्तै मन्त्रिपरिषद्मा प्रस्ताव लगेर जग्गा व्यवस्थापनका लागि पहल गर्ने बताए ।

‘दमौली अस्पतालको क्षमता विस्तार नहुँदा परेको समस्याबारे म जानकार छु । प्रदेशबाट स्वीकृति आउना साथ विस्तारको काम अघि बढ्नेछ,’ उनले भने ।

मन्त्री पौडेललाई अस्पतालको क्षमता विस्तार गरेर ५० शय्यामा स्तरवृद्धि गर्ने काममा सहयोगका लागि समितिका अध्यक्ष वाग्ले र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले आग्रह गरेका थिए ।

दमौली अस्पताल व्यवस्थापन समितिले केही दिन अगाडि मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर अस्पतालको स्तरोन्नति प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराइएकोबारे जानकारी गराएको अध्यक्ष वाग्लेले बताए । उनले भने, ‘अस्पताल स्तरोन्नति गर्न अति आवश्यक भइसकेको छ । यसबारेमा मन्त्री पनि सकारात्मक हुनुहुन्छ ।’

१५ शय्या क्षमताको स्वीकृति भए पनि अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । अस्पतालसँग हाल १५ रोपनी जग्गा रहे पनि कृषि ज्ञान केन्द्रको २ रोपनी र भेटेरीनरी अस्पतालको डेढ रोपनी जग्गा अस्पतालका नाममा प्राप्त भएमा विस्तार गर्न सकिने प्राविधिक समितिले प्रतिवेदन दिएको छ ।

अस्पतालले गत वर्ष ९८ हजार ३५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालका प्रमुख डा. परिवर्तन बरालले प्रत्येक वर्ष बिरामीको संख्या बढ्दो अवस्थामा रहेकाले अस्पताललाई ५० देखि १०० शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको बताए । अस्पतालमा सर्पदंश उपचार केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरको रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको उनको भनाइ छ ।

अस्पताल विक्रम संवत् २०३४ सालमा स्वास्थ्य चौकीको रूपमा स्थापना भई विक्रम संवत् २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्र र विक्रम संवत् २०५९ सालमा अस्पतालमा स्तरोन्नति भएको थियो ।